डेढ महिनाअघि ‘डिभोर्स’ गरेको जोडीको पुनः विवाह

Posted on: 24 Oct, 2022

कात्तिक ७, लमजुङ | डेढ महिनाअघि सम्बन्ध विच्छेद गरेको लमजुङमा एउटा जोडीले डेढ महिनापछि पुनः विवाह गर्ने भएका छन् । उनीहरुले जिल्ला अदालत, लमजुङमा कोर्ट म्यारिज गर्न लागेको बताइएको छ ।

श्रीमतीले त्यतिबेला श्रीमानले हेलाँहोचो गरेपछि खान लाउन आपत परेको जस्ता आरोप लगाएकी हुन् । बेसिसहर–११, कार्कीडाँडा माइती भइ दोर्दी–१, अलैंचेका अमृत थापासँग विवाह गरेकी शिला कुतालले कसैको कुरा नसुनेपछि सम्बन्ध विच्छेद भएको थियो । गत भदौ पहिलो साता जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको निम्ति परेको उजुरीले भदौ २८ गते कानुनी रूपमा मान्यता पाएको थियो । 


यसअघि जिल्ला न्यायाधीश शिवप्रसाद खनालले मात्र होइन स्रेस्तेदार उदयराज काफ्लेलेसमेत बारम्बार यस्तो राम्रो जोडी नछुट्टिन भन्दै आग्रह गरेका थिए । उनीहरुको बेमेलको बारेमा जिल्ला मेलमिलाप केन्द्रमा पनि पटक पटक छलफल गरिएको थियो । तर, उनीहरुले जसरी पनि छुट्टिने भन्दै अड्डी कसेको बताइन्छ । अदालतमा कैयौंको अनुरोधलाई लत्याएर गरिएको सम्बन्ध विच्छेद डेढ महिना पनि नपुग्दै जोडिन लागेको बताइन्छ । श्रीमतीले आफूमाथि हेलाँ र कुटपिट गरेको जस्ता आरोप लगाए पनि सम्पत्ति केही नलिई छुट्टिएको उक्त जोडीले हिजो दिउँसो अदालतमा पुगेर कोर्ट म्यारिजको लागि निवेदन दिएका छन् ।

गर्भवती अवस्थामा सम्बन्ध विच्छेद नहुने कानुनी व्यवस्था हुँदाहुँदै कसरी ‘डिभोर्स’ भयो भन्नेबारे निमित्त स्रेस्तेदार विश्वराज कुँइकेल आफैं चकित भएका थिए । त्यत्रो बबन्डर मच्चाएर छुट्टिभिन्न भएको जोडी फेरि मिल्छौं भनेर अदालतमा गएपछि नाइँनास्ती गर्न पनि भएन । त्यसैले भोलि कार्यालय खुलेपछि मात्रै विधिवत रूपमा ‘कोर्ट म्यारिज’ गरिने कुँइकेलले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!