पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

Posted on: 28 Sep, 2018

असोज १२, बेँसीशहर | भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । 

पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास सञ्चालक खड्कबहादुर गुरुङले बताउनुभयो । 

हरेक घरमा तीनदेखि पाँच कोठा छन् । प्रत्यक घरमा शौचालय, नुहाउने कोठा, धारा तथा पानी ट्याङ्की निर्माण गरिएको छ । “दैनिक ५०÷६० को हाराहारीमा पर्यटक आउने घरबासमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिन्छ ।” 

उहाँले भन्नुभयो, “राइनासकोट र यहाँका एउटै डिजाइनका घर नै पर्यटकको आकर्षण बनेको छ । पर्यटक यही सुन्दरताले लोभिने गरेका छन् । प्राकृतिक सौन्दर्यताले र मानवनिर्मित घरले पर्यटक आगमन बढिरहेको छ ।” 

भूकम्प प्रतिरोधात्मक घर एउटै डिजाइनमा निर्माण गरिएको छ । ग्रामीण जनजीवनसँग जोडिएर सुविधा सम्पन्न तथा पौराणिक शैलीको मौलिकता झल्कने घर बनाइएको छ । पछिल्ला दिन घरबासमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ भने ऐतिहासिक स्थलको प्रचार–प्रसारका साथै आयआजनका लागि समेत स्थानीय बासिन्दा आकर्षित भएका छन् । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राइनासकोटमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु गरिएको थियो । नातासाको रु दुई करोड ७५ लाख, स्थानीयवासीको रु ७५ हजार गरी कूल तीन करोड ५० लाखको लागतमा एक सामुदायिक भवन, एक सङ्ग्राहलय र १४ घर निर्माण गरिएको थियो । 

:: होमस्टे सञ्चालन गरिएको राइनासकोट । राइनास नगरपालिका -९ स्थित राइनासकोटलाई भूकम्पपछि पुनःनिर्माण गरी होमस्टे सञ्चालन गरिएको हो । तस्वीर: समुन्द्रा घिमिरे, रासस, लमजुङ

राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । सूर्योदयको अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ जिल्ला एकसाथ देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताउनुभयो । पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलेकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको उक्त गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । 

ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेका छन् । राइनासकोट संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट बजेट विनियोजन गरिएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । भक्ति पार्क निर्माणका लागि नगरपालिकाबाट रु १८ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरीमार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!