राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ: नेता गजुरेल

Posted on: 28 Feb, 2019

फागुन १६, बर्दिवास | मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । 

मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा यहाँ आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गर्नुभयो । 

“जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ,” गजुरेलले भन्नुभयो, “दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल ‘तैँ चुप मैँ चुप’ देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।” 

अध्यक्ष गजुरेलले फागुन ७ गते पूर्वको झापा, पश्चिमको कञ्चनपुर, गण्डकी प्रदेशको पोखरा र केन्द्रीय राजधानी काठमाडौँबाट एकसाथ शुरु गरिएको मेची–महाकाली राष्ट्रिय जागरण अभियान यही फागुन २१ गते चितवनमा समापन गरिएसँगै नयाँ आन्दोलनको तयारी गरिने बताउनुभयो । सभामा मोर्चाका केन्द्रीय नेता हरिभक्त कँडेल र कृष्णदेव सिंह दनुवारले जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने जिकिर गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!