बाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरु

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ | वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभएको छ । 

मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई भर्चुअलरुपमा निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका समस्याको समाधान गर्न सरकारले गर्नुपर्ने काममा सरकार तयार रहेको स्पष्ट गर्नुभएको थियो ।

उहाँले रकम अभावका कारण कुनैपनि काम नरोकिने बताउँदै प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि सङ्घीय सरकारले पूर्ण अधिकार दिएकाले कोभिड १९ नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन अनुरोध गर्नुभयो । महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता वाधक हुननहुने उहाँको भनाइ थियो । 

मुख्यमन्त्री पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागि परेको जानकारी दिँदै प्रदेशमा आवश्यकताअनुसारको आइसोलेशन, कोभिड अस्पताल र जनशक्तिलगायतको अभाव हुन नदिइने पनि जनाउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, सामजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!