चितवन र मकवानपुरमा यी आठवटा ठाउँमा डिप ट्युबवेल निर्माण सुरु

Posted on: 07 Sep, 2017

भदौ २२, चितवन। सिँचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले खेती हुने सुख्खा क्षेत्रमा सिँचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण शुरु गरेको छ । 

चितवन र मकवानपुरमा सेवा पु¥याउँदै आएको कार्यालयले यहाँका विभिन्न आठ स्थानमा डिप ट्युबवेल निर्माणको काम थालेको भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी अमलेस यादवले जानकारी दिनुभयो । चितवनमा ६ र मकवानपुरमा दुईवटा स्थानमा डिप ट्युबवेल निर्माण थालिएको हो । 

चितवनको कालिका नगरपालिका–८ सिमलबस्ती, भरतपुर महानगर–६ शान्तिपुर र १४ शिवनगर तथा पश्चिम चितवनको देवनगर, राप्ती नगरपालिका–५ रामपुर टाँडी तथा खैरहनी नगरपालिका–४ भुत्याहामा डिप ट्युबवेल निर्माण थालिएको हो । 

यस्तै मकवानपुरको हेटौँडा–१६ र १८ मा ट्युबवेल निर्माण निर्माण थालिएको छ । तीन चरणमा निर्माण सक्नेगरी शुरु भएको उक्त ट्युबवेल निर्माणको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्ष दोस्रो चरणको काम सञ्चालन हुने कार्यालयले जनाएको छ । 

उक्त योजना सम्पन्न गर्दा प्रतिडिप ट्युबवेलको रु ८० लाख लागत लाग्ने सूचना अधिकारी यादव बताउनुहुन्छ । पहिलो चरणको काम सकिँदा सबै गरेर रु एक करोड ६० लाख खर्च भएको छ । एक सय मिटर तल जमिनमुनिबाट पानी निकालिएको छ । चितवनमा ६ वटा डिप ट्युबवेलले १८५ हेक्टर क्षेत्रफल सिञ्चित हुने र मकवानपुरको दुईवटा ट्युबवेलबाट ४० हेक्टर क्षेत्र सिँचाइ गर्न सकिने बताइएको छ । रासस (फाइल फोटो)


यस बिषयमा तपाइको प्रतिक्रिया...!