वाग्मती प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

Posted on: 24 May, 2021

जेठ १०,  वाग्मती (रासस)। वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!