भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ

Posted on: 30 Jul, 2021

साउन १५, वाग्मती (रासस)। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । 

कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो ।

कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताउनुभयो ।

कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि  खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएका छ । भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!