सीमामा खटिएका २०७ सशस्त्र प्रहरी कारबाहीमा, अवैध कारोबारमा संलग्नसम्मका अभियोग

Posted on: 15 May, 2023

जेठ १, विराटनगर | नेपाल-भारत सीमा सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खटिएका २०७ जना सशस्त्र प्रहरीलाई कारबाहीस्वरूप बाहिनी तानिएको छ ।

सीमा सुरक्षा बेस क्याम्प र बोर्डर आउट पोष्टमा कार्यरत विभिन्न ‌ओहदाका उनीहरूले सन्तोषजनक काम नगरेको, आचरणमा नबसेको भन्दै कारबाही गरिएको हो । उनीहरूमाथि सीमा वारपार अवैध कारोबारमा संलग्न रहेको आशंकासमेत छ ।

बाहिनीमा तानिएकामध्ये ५ जना विभागीय कारबाहीमा परेका छन् । ११ जनालाई कारबाहीको प्रक्रिया थालिएको छ । बाँकी सुधारको तालिममा राखिएको छ ।

बीओपी वसन्तपुर सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट, नकलबन्द झापामा कार्यरत नायब निरीक्षक ऋषीराम खत्री, आमगाक्षी झापाका पुरनलाल राजवंशी र प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारी झापाका डीएसपी सुमन शर्मा र इन्सपेक्टर वकिलबहादुर धानुक कारबाहीमा परेका छन् ।


धानुक स्याउ तस्करी प्रकरणमा दोषी देखिएका थिए । भन्सार छलेर चिनियाँ स्याउ भारत लैजाँदै गर्दा गाडीसहित दुई साताअघि बरामद गरिएको थियो । सो प्रकरणमा उनी दोषी देखिएका थिए ।

सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसँगै लामो समयदेखि खटिएका ५ वटा बोर्डर युनिटलाई नै फिर्ता बोलाइएको छ ।

सशस्त्र प्रहरीका डीआईजी आश्विनी पोखरेलले प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टामा कार्यरत ७० जनाको टोली , प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका ७८ जनाको टोली फिर्ता बोलाइएको बताए ।

बीओपी दरैया मोरङका २१ जनाको टोली, वसन्तपुर सुनसरीमा कार्यरत २० जना र बीओपी अमडुवा सुनसरीका १८ जनालाई पनि तानिएको छ ।

कार्य सम्पादन सन्तोषजनक नभएका सातजनालाई तराईका बीओपीबाट पहाडी गुल्ममा पठाइएको छ । सीमा सुरक्षालाई मजबुद बनाउन पहाडी गुल्मबाट तराईका बीओपीमा ६० जना जनशक्ति थप गरिएको डीआईजी पोखरेलले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!