मेसिनले हात छिनाइदिएपछि जुट मिल्सका कामदारको मृत्यु

Posted on: 24 Jun, 2022

असार ७, विराटनगर | विराटनगर महानगरपालिका–१७ रानीमा रहेको रघुपति जुट मिल्सको मेसिनले हात छिनाइदिएपछि शुक्रबार राति एक जना कामदारको मृत्यु भएको छ । 


मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल्सका मजदुर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको राति ९ः३० बजेतिर मृत्यु भएको हो । जुटको फोहोर सफा गर्ने क्रममा चालु अवस्थामा रहेको मेसिनले कामतले काटेर बायाँ हात छिनाइदिएको श्रेष्ठले बताए । मेसिनले बायाँ हातको कुमदेखि तलको भाग काटेर छिनाइदिएपछि अत्यधिक रक्तश्राव भएको थियो । 

‘फोहोर सफा गर्ने क्रममा मेसिनमा हात अड्किएछ । चालु अवस्थामा रहेको त्यही मेसिनले काटेर कुमदेखि तलको भाग छिनाइदिएको पाइयो,’ उनले भने, ‘मेसिन बन्द गरी तत्काल उद्धार गरेर घाइतेलाई उपचारका लागि लगिए पनि बचाउन सकिएन । अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।’ 

कामतलाई सुरुमा कोसी अस्पताल लगियो । त्यहाँबाट थप उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!