सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् सोरुका अध्यक्ष

Posted on: 10 Apr, 2022

चैत्र २७, मुगु | जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो । 

गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडी नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ । 

लाखौं मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्काएर अध्यक्ष लगायत गाउँपालिका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । 

बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने तर गाडी मर्मत दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

आफ्नो गाडी कवाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको  गाउँपालिका अध्यक्ष शाहीले बताए । 'गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडी बढेको छ,' अध्यक्ष शाहीले भने, 'अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउने छौं ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!