९ वर्ष खाडीमा कमाएको ८० लाख अमेरिका जान गुमेपछि गाउँमै बाख्रापालन

Posted on: 07 Apr, 2021

चैत २५, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले  यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको  बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन । 

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ आकिसिएकाले बीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उहाँ खुशी हुनुहुन्छ । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् । 

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइरहेको छ । तरकारीपछि म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् । दुई दशक पहिले गाउँघरमा दूध विक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब शहर बजार जस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो किसानले विस्तारै दूधबाट आम्दानी लिन थाले । 

मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा राक्से, मालिका गाउँपालिका– ७ बिम, बेनी नगरपालिका–२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।

बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा रु ६५ लाख आम्दानी भएको च्याउ कृषकले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का । नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालनव्यवसाय शुरु गर्नुभएको छ । खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने प्रयासमा डुबेपछि  गाउँमा नै फर्किएर बाख्रापालन व्यवसाय शुरु गर्नुभएको हो ।

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो । खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीन वटा घडेरी जोड्नुभएको थियो । 

 “म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो, अनि त्यहीँबाट फर्काइ दियो,” उहाँले भन्नुभयो, “राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।” शुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रापालन गर्न थाल्नुभयो । 

खड्काले रु सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी रु १५ लाखको लगानीमा बाख्रापालन व्यवसाय थाल्नुभयो । दिप्सन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी शुरु गरेको व्यवसायमा अहिले  ४० स्थानीय र बोयर क्रस जातका बाख्रा छन् । खड्का जस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय शुरु गरेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । सबैभन्दा बढी मङ्गला गाउँपालिकाका युवा बाख्रा पालनतर्फ लागेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!