लयमा फर्किए विकास आयोजना

Posted on: 10 Apr, 2021

चैत २८, म्याग्दी | म्याग्दीका विकास आयोजनाको निर्माण कार्य करीब एक वर्षपछि लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाए पनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौती देखिएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम र रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको लकडाउनले रोकिएका जिल्लाका विकास आयोजना पुरानै लयमा फर्किएका छन् । आवतजावत बन्द र मजदूर घर गएपछि रोकिएका विकास आयोजना गत वर्षाको बाढीपहिराले प्रभावित भएका थिए । निर्माण व्यवसायी करीब एक वर्षपछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएका छन् । 

सडक, भवन, नदी नियन्त्रण, जलविद्युत्, प्रशारणलाइन, खानेपानी, सिँचाइ, मोटर गुड्ने र झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । “जनप्रतिनिधि, प्रशासन र सम्बद्ध निकायको ताकेता र दबाबले निर्माणले तीव्रता पाएको हो”, उहाँले भन्नुभयो, “आयोजना निर्माणका क्रममा उत्पन्न समस्याको पहिचान र समाधानका लागि समन्वय र सहजीकरण गरेका छौँ ।” दुई सय २० केभी क्षमताको दाना–कुश्मा सबस्टेशन र प्रशारणलाइन निर्माण सकिएको छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । 

म्याग्दीका मुख्य र सहायक सडकका विभिन्न १३ ठाउँमा पक्की पुल निर्माण भइरहेको छ । रघुगङ्गा गाउँपालिकाका तीन वडामा पर्ने दग्नाम, दर्मिजा, चिमखोला, कुइनेमङ्गलेका बस्ती सडक सञ्जालमा जोडिएका छन् । बाबियाचौर, कालीपुल र रत्नेचौरमा सडक कालोपत्रे भएको छ ।

बेनी–जोमसोम, बेनी–दरवाङ, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवती–बेग र दरवाङ–धारापानी सडक आयोजना निर्माण भएको छ । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने दानाका कबिन तुलाचनले निर्माण व्यवसायीले थप मजदूर, उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाउन जुटाउनुपर्ने बताउनुभयो । “बर्खा शुरु नहुँदै काम सक्ने हिसाबले निर्माणलाई तीव्रता दिनुपर्छ,” उहाँले भन्नुभयो “बर्खा शुरु भयो भने अधुरा आयोजनामा बाढी पहिरोले क्षति पु¥याउने खतरा हुन्छ । भएको लगानी र गरेको मेहनत खेर जान्छ ।” 

घारखोला, मिस्त्रीखोला, राहुघाट जलविद्युत् आयोजनाले लकडाउन र पहिरोको असहज अवस्थामा पनि काम रोकेका थिएनन् । डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सबस्टेशन र मालढुङ्गा–बेनी सडक आयोजनाको ठेक्का सम्झौताको प्रक्रियामा छन् । मिलनचोक–रातोढुङ्गा सबस्टेशन र प्रशारण लाइन निर्माण पुनः रोकिएको छ । बेनी, दरवाङ र भुरुङ्ग तातोपानी बजार संरक्षण आयोजना शुरु भएको छ । 

सङ्घीय, प्रदेश, स्थानीय तह, जिससका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाले रोकिएका विकास आयोजनालाई पुनः सञ्चालन गराउन अनुगमन, सहजीकरण तथा समन्वय गरेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन, विकास तथा अर्थ समितिका सभापति दिपक कोइरालालगायतको फरकफरक टोलीले पछिल्लो १० दिनयता म्याग्दीका विकास आयोजनाको अनुगमन गर्नुभएको छ । 

खोपको विकाससँगै कोरोनाको जोखिम घटेपनि ढुङ्गा, गिट्टी र बालुवाको अभाव भएको र पर्याप्त बजेट विनियोजन नहुँदा समयमै भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सोमनाथ थकालीले गुनासो गर्नुभयो । “काम गर्ने ठाउँमा पर्खाल निर्माण गर्ने ढुङ्गा पाइँदैन्,” उहाँले भन्नुभयो, “खोलामा थुप्रिएको ढुङ्गा निकाल्न कडाइ गरिँदा मजदूर काम नपाएर बस्ने अवस्था छ ।” निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतले ठेक्का लिएको बेनी अस्पतालको ५० शै्या क्षमताको भवन निर्माण भने अलपत्र परेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!