नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

Posted on: 12 Mar, 2022

फागुन २८, म्याग्दी । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो । 

बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल वनेपछि एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । “बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जङ्गलमा करिब एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।”

यो पुलबाट मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिम, मराङ, मल्कवाङ र कुइने मङ्गलेका करिब एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको धौलागिरि–६ आरवाङको प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले बताउनुभयो । 

म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा÷थानी÷हिमशिखर जेभीले विसं २०७७ असारमा रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्राविधिक विष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राविधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताउनुभयो । उहाँका अनुसार यो पुलमा एक पटकमा ७५५ मानिस आवतजावत गर्नसक्ने क्षमता रहेको छ । पुलको उचाइ करिब १५० मिटर छ ।

आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले पनि सम्भावना पनि रहेको धौलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाको अवलोकन गर्न सकिन्छ । 

साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकका कारण बिमवाङ र रिखमा चहलपहल तथा व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । यो पुल भएर प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले वताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!