पर्यटकका पर्खाइमा आलडाडा

Posted on: 25 Jan, 2022

माघ ११, म्याग्दी | वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने  अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान पर्यटकका पर्खाइमा छ । 

स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । “प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ,” उहाँले भन्नुभयो “अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बिच बाटोमा पर्ने आलडाडाको प्रर्वद्धन आवश्यक छ ।” सो स्थानमा ‘हिमालयन भ्यू एण्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल बार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन् । आलडाडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । 

हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सुर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाडाको भ्रमणमा गर्नुभएका सुरेन गुरुङले बताउनुभयो । गुराँसको जंगलका साथै बिभिन्न प्रजातिका बनस्पति, जडिबुटी, बन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न पाइने उहाँले जानकारी दिनुभयो । करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आलडाडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ । 

राम्चे देखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिडेपछि आलडाडा पुग्न सकिन्छ । राम्चे हुदै आलडाडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाडामा पुग्ने पर्यटकको सुबिधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गर्नुभएको छ । होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा बीस जना बास बस्न सक्ने दश  कोठा छन् । रु पैतिस लाखको लागतमा उहाँले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ । प्रति रात बास बस्न एक जनालाई करिब रु. एक हजार बजेट आवश्यक पर्ने जनाइएको छ  । 

बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन रु. ३७ लाख लगानी गरेका पुर्जा कोभिड पछि पर्यटक आउने आशामा हुनुहुन्छ । दश बर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएको थियो । स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । परिवारका सदस्यहरुद्वारा सो होटल सञ्चालित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!