कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालन

Posted on: 04 Jan, 2023

पुस २०, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि -याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी -याफ्टिङ सञ्चालन गरिएको हो ।

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित -याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताउनुभयो ।

‘‘हिउँदयाममा नियमितरूपमै सञ्चालन गर्ने गरी -याफ्टिङ सुरुआत गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमितरूपमै -याफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ”, उहाँले भन्नुभयो । 

कालीगण्डकी नदीमा -याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेकोे छ । -याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताउनुभयो ।

कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि -याफ्टिङ गर्दै आउनुभएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित -याफ्टिङ सञ्चालनको सम्भावना बढिरहेको बताउनुभयो ।

गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयोे । गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि रु एक हजार दुई सय शुल्क तोकिएको छ । यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ ।

अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!