ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, बलात्कार भएको आशंका

Posted on: 22 May, 2022

जेठ ८, काठमाडौं | ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंकासमेत गरिएको छ। तर मेडिकल रिपोर्टबिना यसबारे बोल्न नमिल्ने खनाल बताउँछन्। 

प्रहरी नायब उपरीक्षक खनालका अनुसार किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन्। घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थियो। प्रहरीलाई पनि खबर गरिएको थियो।

खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारेको हो। उनी आफ्नो घर भन्दा डेढ किलोमिटर टाढा फेला परेकी हुन्। 

‘४ बजेतिर गाउँलेले उनको खोजी गर्‍यो। ५ बजेतिर फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो,’ खनालले भने,‘प्रहरी पुग्दा साढे ५ भएको थियो। अस्पताल पुर्‍याउँदा ६ बज्यो।’

‘डाक्टरले कुरा गर्दा केही बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। नाम र घटनाबारे भन्न सक्नुहुन्छ,’ उनले भने, ‘तर टाउकोमा चोट लागेको हुँदा हामीले धेरै प्रेसर दिइसकेका छैनौं।’अहिले उनलाई काठमाडौं ल्याउन प्रहरीले अल्टिच्युड हेलिकप्टरसँग कुराकानी गरिरहेको छ।

प्रहरीले घटनामा संलग्नहरूको पहिचान पनि गरिसकेको उनले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!