ओखलढुंगामा अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

Posted on: 03 Jun, 2021

जेठ २०, ओखलढुंगा (रासस) । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर  आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो । अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ ।  जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!