आधुनिक कृषि उपकरणमा युवाको आकर्षण

Posted on: 07 Feb, 2022

माघ २४, पाल्पा | पाल्पामा पछिल्ला वर्षमा आधुनिक कृषि उपकरणको  प्रयोगमा  युवा आकर्षित भएका छन् । कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले उत्पादनमा सहज तुल्याएको छ ।उन्नत जातका पशुपालन गर्ने युवा आधुनिक उपकरण प्रयोग गर्दै उत्पादनमूलक काममा व्यस्त रहन थालेका छन् । आधुनिक औजारको प्रयोगले पशुपालनका साथै कृषिको उत्पादन वृद्धिले आम्दानीसमेत राम्रो हुन थालेको बताइन्छ ।

आधुनिक यन्त्रले छिटोछरितो रुपमा काम गर्न पाएपछि किसानमा उत्साह छाएको  हो । खेतीबारी खनजोन, गाईभैँसीका लागि घाँस काट्न र  दाना उत्पादनमा समेत सहज भएको छ  ।तानसेन नगरपालिका–९ मदनपोखराका अनुपम भुसाल व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालनमा व्यस्त हुनुहुन्छ । बाख्रालाई भुइँघाँस मेसिनले कटान गरी भाडामा खुवाउँदा घाँसको सदुपयोग हुने बताउनुहुन्छ । उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले घाँस काट्न  मिहिनेत नै कम  गर्नु परेको छ । 

पहिले पहिले घाँस काटेर हालिदिन निकै गाह्रो थियो । तीन भारी घाँस काटेर हाल्नुपथ्र्योे, घाँस बाख्राले खानेभन्दा बढी भुइँमा कुल्चने र कुहिएर नास गर्दा दुःख मात्र हुने समस्या थियो । अहिले एक भारी घाँस मेसिनले कटेर खुवाउँदा बाख्रालाई प्रशस्त पुग्ने र यस्ता प्रविधिको प्रयोगले  कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्न उत्साह थपेको कृषक भुसालले बताउनुभयो  ।

तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकास्थित ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) र हेफर प्रोजेक्ट नेपालले  कृषि तथा पशुपालनका लागि आधुनिक उपकरणका लागि सहयोग गर्दै आएको छ । उपरकणको  प्रयोगबाट घाँस काट्न र  दाना बनाउन सहज भएको रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताउनुभयो ।

उपकरणको सहायताले  कृषि तथा पशुपालनका क्षेत्रमा मिहिनेतअनुसारको प्रतिफल प्राप्त भएको र यसबाट कृषि क्षेत्रमा अनावश्यक मिहिनेत गर्नुपर्ने बाध्यता हटेको नगरपालिकाका प्राविधिक दानबहादुर कुवँरले जानकारी दिनुभयो  ।अझै पनि आधुनिक उपकरणको प्रयोग सबै किसानको पहुँचमा नभएकाले कतिपय किसान परम्परागत प्रणालीबाटै खेती गर्न बाध्य छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!