पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, पर्वत | पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्प झण्डै १७ हजार मत गणना भएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पार्नुभएको छ । जोशीले आठ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य क्षेत्र नं. १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।  एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ । 

पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले पाँच हजार आठ सय २३ र एमालेका बस्यालले सात हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!