कोशीमा माओवादी र जसपालाई सरकार छाड्न कांग्रेसको आग्रह

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ | नेपाली कांग्रेस कोशी प्रदेशले यथास्थितिमा सर्वदलीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकारमा सहभागी हुन सबै दलहरूलाई आव्हान गरेका थिए ।

पछिल्ला केही दिनयता भइरहेका सर्वदलीय सरकारका लागि सहमतिको प्रयास भइरहेको र मुख्यमन्त्री आलोपालोको चर्चालाई कांग्रेसले खारेज गरेको हो ।

कांग्रेस कोशी संसदीय दलको बैठकले सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादीलाई एमालेमाथिको समर्थन फिर्ता लिएर सरकारबाट हट्न आग्रह गरेको छ । केन्द्रको गठबन्धनअनुसार नै प्रदेशमा सरकार बनिनुपर्ने उसको ठहर छ ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न माओवादी र जसपालाई आग्रह गरेको संसदीय दलका नेता उद्धव थापाले नेपाल प्रेसलाई बताए ।

कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एकजना मन्त्री छन् । केन्द्रमा समीकरण फरक भएका कारण प्रदेशमा पनि सोही अनुसारको सरकार हुनुपर्ने थापाले बताए ।

‘माओवादी र जसपा सरकारबाट बाहिरिन मानिरहेका छैनन् । केन्द्रमा गठबन्धन फेरिसक्यो यहाँ हाम्रो गठबन्धनको सरकार बनाउने प्रयास रोकिएको छ’, थापाको भनाइ थियो ।

यहाँ ९३ जना सांसद छन् । तर, कुनै दलसँग एकल बहुमत छैन । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । केन्द्रमा यी दलहरूमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावदेखिकै गठबन्धन छ ।

प्रदेशसभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस-माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने स्थिति देखिन्न । त्यसैले अन्य प्रदेशको एमाले सरकार ढल्दासम्म कोशीमा हिक्मत कार्कीलाई ढाल्न कांग्रेस नेतृत्वको गठबन्धनलाई सकस परिरहेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!