जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on: 01 Jul, 2016

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । 

बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिएका छन् । कार्यालयको ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो, ५० प्रतिशत भने किसान स्वय्मको लगानी छ ।”

पशु स्वास्थ्य प्राविधिक नरसिंह थापाका अनुसार सो अनुदानका लागि १२ जनाको कोटा भएको भएपनि ३१ किसानले निवेदन पेश गरेका थिए । कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमन तथा निरीक्षणबाट घरमा स्याउ बगैचा भएका जिल्लाभरिका १२ किसान छनोट गरी गाई वितरण गरिएको थापाले बताए । जुम्लाका पटमारा, चन्दननाथ, देपालगाउ र गज्याङ्ककोट गाविसका किसानलाई गाई वितरण गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!