लुम्बिनी गुरुयोजनालाई अझै साढे सात अर्ब चाहिने

Posted on: 30 Oct, 2021

लक्ष्मण पौडेल | कात्तिक १३, बुटवल | लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गुरुयोजना पूरा हुने आशा पलाएको हो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै साढे सात अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

लुम्बिनी विकास कोषले अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरेसँगै अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् । लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । यसका लागि तीन अर्ब ५० करोड लाग्नेछ ।

गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबको दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठआठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईले बताए ।

लुम्बिनी गुरुयोजनामा चालु आर्थिक वर्षमा सकिने गरी अन्तर्राष्ट्रिय ध्यान केन्द्र, एउटा पोखरी, ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ६०० मिटर सौन्दर्यीकरण गर्ने काम भइरहेका हुन् । यीबाहेक गत वर्ष नै बहुवर्षीय योजना भनेर ठेक्का लाएका वाटर टावर, विद्युत्, टेलिकम्युनिकेसनको काम सम्पन्न भइसकेको भट्टराईले बताए ।

दोस्रो चरणको कामका लागि ग्लोबल टेन्डर आह्वान गर्नुपर्ने र यसका लागि अर्थमन्त्रालयसँग छलफल अगाडि बढेको भट्टराईले बताए । दोस्रो चरणको कामका लागि करिब चार अर्ब लागत लाग्ने अनुमान छ । गुरुयोजना सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने कोषले बताएको छ ।

विकास कोषका अनुसार अहिलेसम्म गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले ५२ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । अर्को थाइल्याण्डले १० करोड २५ लाख रुपैयाँ लागतमा विहार बनाएको छ ।

लुम्बिनीग्राम क्षेत्रमा एक अर्ब २७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटलले रु ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख रुपैयाँ सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख रुपैयाँलागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करिब तीन अर्ब रुपैयाँलागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ४० करोड रुपैयाँ लगानी भएको छ । कोरोना महामारीका कारण पनि गुरुयोजनाका काम पछाडि धकेलिएको र अब तीव्र गतिमा अगाडि बढ्ने योजना प्रमुख भट्टराईको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!