वर्षाले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँको क्षति

Posted on: 28 Jul, 2016

साउन १३, बुटवल । बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो । सूर्यपूरा गाविसमा रहेको अस्ट्रिच फर्ममा रोहिणी नदीको बाढी पसेपछि ८० भन्दा बढी अस्ट्रिचका छ महिना नाघेका बच्चा बगाएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए । 

बाढीले फर्मको चार बिगाहा जमिन र तारबार कटान गरेको छ । दाङमा पालेका बयस्क अस्ट्रिच ३० वटाभन्दा बढीको मृत्यु भएको कम्पनीले जनाएको छ । बाढीले जिल्लाको करिब १२ हजार ५१९ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ । 

तिनाउ, दानव र रोहिणी नदीमा आएको बाढीले ४० हेक्टर धान खेती नष्ट गरेको छ भने १२ हजार ४६० हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख आश्विनी शर्माले बताए । 

जिल्लामा रु ७५ लाख मूल्य बराबरको धानबाली, तरकारी रु १५ लाख, केरा रु दुई लाख ५० हजार, माछा रु ५० लाख, मैरीको मह र घार रु ११ लाख ७० हजार तथा बदाम रु १० लाख ८० हजार तथा पशुतर्पm करिब रु ३५ लाख ८३ हजार मूल्य बराबरको बाख्रा क्षति भएको पशुसेवा कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!