सेटिङमा देउवा प्रधानमन्त्री बनेको खगराज अधिकारीको दाबी

Posted on: 20 Nov, 2021

मङ्सिर ४, बुटवल | पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताए । 'सर्वोच्चको अहिलेको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छ', उनले भने, 'सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।'

राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उनले तक्मा लिनु भनेको घुस लिए सरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व  स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । 'अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,' उनले भने ।

फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाएका छन् । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताए । 


मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाई छ । तर, वामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उनले बताए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष रामबहादुर चन्दले संघभित्र फुटपरस्त गतिविधिमा लाग्नेलाई निलम्बन गरिएको भन्दै अव संगठनलाई अझ सुदृढ, व्यवस्थित र पारदर्शी बनाएर लगिने बताए । संघका महासचिव डा. झलक शर्मा गौतमले स्वास्थ्यकर्मी संघ देशभरिका स्वास्थ्यकर्मीहरूको आशा र भरोसाको केन्द्र बनेको भन्दै मुलुकभरका स्वास्थ्यकर्मीको  हक हितको रक्षा गर्दै संघ अगाडि बढ्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!