संखुवासभामा शंकास्पद वस्तु फेला, स्थानीयमा छायाे त्रास

Posted on: 14 Jan, 2022

पुस २६, काठमाडौँ | संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइ नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

शंकास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ । उक्त शंकास्पद बस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भएपनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

चैनपुर–६ गढी डाँडामा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!