सर्लाहीमा एकै दिन तीन ठूला दलका नेताहरूको कार्यक्रम

Posted on: 26 Oct, 2021

कात्तिक ९, सर्लाही | हिन्दु धर्मलाम्वीहरूको दोस्रो महान चाड दीपावली तथा छठ आउँदै गर्दा कार्यक्रमहरू पनि बढ्दो छ । विशेषत: यो समयमा तराईमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।

केही दिनयता सर्लाहीमा नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने नेताहरू आउन थालेका छन् । दीपावली तथा छठ पर्व लक्षित कार्यक्रमहरूसँगै व्यक्तिगत भेटघाटका लागि नेताहरू आउने क्रम बढ्दो छ । 

मंगलवार सर्लाहीमा विभिन्न तीन स्थानमा तीन पार्टीको कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ९ र १० कात्तिकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन सर्लाही आइपुगेका छन् ।

हरिवन नगरपालिका-५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने गर्ने बहानामा सर्लाही आइपुगेका अध्यक्ष नेपाल अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । उनको १० कात्तिक बिहान कार्यकर्ताहरूसँग अनौपचारिक भेटघाट गर्ने, लालबन्दी नगरपालिका-१५ र १६ परवानीपुर बोहोरे डाँडामा पुष्पलालको शालिक अनावरण र जिल्ला कमिटीको घोषणा समारोहलाई सम्वोधन गर्नेलगायतको कार्यक्रम छ । 

यस्तै , लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि सर्लाही आइपुगेका छन् । उनीहरू बरहथवा नगरपालिकामा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन् सर्लाही आइपुगेका हुन् । नेपाली कांग्रेसले सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगरमा आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामनासँगै पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, संविधानसभा सदस्य बद्री पाण्डे, डा. शाेभाकर पराजुली, उज्जवल बराललगायतको उपस्थिति रहेको छ । 

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव गत बिहीबार सर्लाहीस्थित कविलासी नगरपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् । त्यसअघि बुधबार मात्रै अर्थमन्त्री जनार्दन शर्मा रामनगर गाउँपालिकामा माओवादी नेता शिवपुजन रायका पिताको श्रद्धान्जली सभा र बरहथवास्थित हीरापुर ब्यारेजको निरीक्षणमा सहभागी हुन आएका थिए । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव पनि दसैँमा सर्लाही आएर एक साता लामो गृहजिल्ला बसाइपछि भर्खरै संघीय राजधानी काठमाण्डौं फर्किएका थिए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!