सर्लाहीको बरहथवाकाे एक मतदानस्थलमा पुनः मतदान हुने

Posted on: 14 May, 2022

वैशाख ३१, सर्लाही | सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । बरहथवा नगरपालिका–१७ स्थित आधारभुत विद्यालय परोरिया मतदान स्थलमा रहेको दुई मतदान केन्द्रमा विवादका कारण सबै मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

विवाद भएको बहरथवा नगरपालिका–१७ को दुई वटा मतदान केन्द्रमा गरी १९ सय ५४ जना मतदाता थिए । त्यसमध्ये शुक्रवार भएको मतदानमा जम्मा तीन सय ७२ मत मात्रै खसेको थियो । 


शुक्रवार मतदान सुरु भएको केही घण्टापछि दिउँसो १ बजे राजनैतिक दलका नेताबीच मतदान प्रकृयाको विषयमा भएको विवादले झडपकाे रुप लिएकाे थियो । त्यसपछि अवरुद्ध भएको मतदान समय अवधीभर पनि सुरु हुन नसकेपछि साँझ यसै मतपेटिका मुचुल्का तयार गरेर बन्द गरिएको थियो । जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले विनाकारण विवाद गरेर मतदाताहरूलाई कुटपिट गरी सख्त घाइते बनाएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी, स्वतन्त्र लगायतले निर्वाचन कार्यालयमा निवेदन समेत दिएका थिए । 

उक्त नगरको एक वडाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएपछि नगरको मत गणना स्थगित भएको छ । रद्द भएको मतदान केन्द्रको मतदान भने प्रचलित कानुन अनुसार सर्वदलीय छलफलबाट मिति तोकिने बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!