सर्लाहीमा चिसोले कठ्याङग्रिएर दुईको मृत्यु

Posted on: 19 Dec, 2022

पुस ४, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । 

स्थानीयका अनुसार कठ्याङग्रिएर ज्यान गएका रमेश र रामभगतले मदिरा सेवन गर्नुहुन्थ्यो । उहाँहरुको मृत्युबारे स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइएको छैन् । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझी मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्याङग्रिएर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । 


केही वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । घरको दुई वटा कोठामध्ये एउटा कोठा दाई मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गर्नुभएको थियो । 

एउटा कोठामा मृतक रमेश, उहाँकी श्रीमती चन्दु माझी, जेठो छोरा पंकज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दैआएका थिए । किरियापुत्री बस्नुभएका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङग्रिएर मृत्यु भएको बताउनुभयो । 

पिडारी बजारमा क्लिनिक खोलेर बस्नुभएका अहेब दिनेश साहले मङ्सिर २५ गते बिहान उपचारका लागि आफू पुग्दा रमेशको कठ्याङग्रिएर ज्यान गइसकेको बताउनुभयो । रमेशका छिमेकी आशादेवी माझीले न्यानो नपाउँदा रमेशको कठ्यांग्रिएर ज्यान गएको र गाउँका अन्य मुसहरहरुको पनि लगाउने न्यानो कपडा र ओढने ओछयाउने नहुँदा समस्या रहेको बताउनुभयो ।  

जनकपुरमा इँटा भट्टामा काम गर्ने रामकेबलले मङ्सिर २३ गते साँझ चिसोले कठ्याङग्रिएर बुवाको मृत्यु भएपछि घर आएर किरियापुत्रीमा बसेको बताउनुभयो । रामकेवलको पाँच जनाको परिवार अहिले फुसको छानो भएको कच्ची घरमा बसेर दैनिकी गुजारी रहेको छ । 

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले चिसोले कठ्याङग्रिएर मानिसको मृत्यु भएकोबारे प्रहरीमा कुनै जानकारी नआएको बताउनुभयो । प्रहरीमा जानकारी आएमा मुचुल्का गरेर मृतकको शव पोष्टमार्टमका लागि पठाइने र त्यसपछि मात्रै मृतकको परिवारलाई नेपाल सरकारले दिने राहत मिल्ने बताउनुभएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!