बलात्कार आरोपमा जेल परेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएकाे पीडितकाे आराेप

Posted on: 04 May, 2022

वैशाख २१, जुम्ला | मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेकाे पीडितकाे भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेकाे पीडितकाे दुखेसाे छ । 

पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन्  । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।'

                                                     

१६ फागुनमा पक्राउ परेका  बानियाँविरुद्ध एक महिलाले नेपालगञ्जको अप्सरा होटलमा जबर्जस्ती करणी गरेको उजुर दिएकी थिइन । यसपछि बानियाँ सांसदबाट निलम्बन भएका थिए । 

पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको  बताएकी छन्  । उनले भनिन, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेकाले छ । झनै असुरक्षित महसुस भइरहेको छ ।' 

अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँकाे प्रयास   

प्रतिनिधि सभाका निलम्बित  सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो । 

बलात्कार आरोपमा थुना परेपछि पाँच लाख धरौटीमा छुटेका उनी पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उनले भने, 'उनको  निवेदन दर्ता गरिएको छैन ।  उनी आउँदैमा  हामीले निवेदन दर्ता गर्न मिल्दैन । हामी कानुनअनुसार अगाडि बढ्ने छौँ ।' बाँके जिल्ला अदालतले २ चैतमा धरौटीमा उनलाई छोडेको थियो । मुगु खत्याड गाउँपालिका–३ का बानियाँ एमालेका समानुपातिक सांसद हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!