धरान पुगेर प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू

Posted on: 26 Aug, 2022

भदौ १०, सुनसरी | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । 

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।  माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गरेका प्रचण्डले देशभरका सबै श्रमजिवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन आग्रह गरे । 

आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे । 

मेयर साम्पाङको आह्वानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!