चार दिनदेखि रोकिएको मतगणना सीसीटीभी फुटेज हेरेपछि सुरु

Posted on: 29 Nov, 2022

मङ्सिर १३, काठमाडौँ | चार दिनदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना दिउँसो ३ बजेदेखि सुचारु भएको छ । सर्वदलीय बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि गणना सुरु भएको हो ।

मतगणना सुचारु गर्न आज बिहान सर्वदलीय बैठक बसेको थियो । बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेर्ने सहमति भएको थियो । बैठकपछि दलका प्रतिनिधि, उमेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले फुटेज हेरेका थिए ।

सुनसरीको क्षेत्र नं. ४ मा अब चारवटा स्थानीय तहको गरी २० हजार मतगणना हुन बाँकी छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४३९ मत ल्याएर अग्रता कायम गरेका छन् ।

नेकपा (एमाले)का उमेदवार जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन । दुईबीचको मतान्तर ९८ मत रहेको थियो ।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उमेदवार कार्कीले धाँधली भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिए पछि मतगणना स्थगित भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!