विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीको जित सुनिश्चित

Posted on: 29 Nov, 2022

मङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिएकी छिन् । ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बनिन् भगवती चौधरी । 


तीन हजार ६५५ मतगणना हुन बाँकी रहँदा चौधरीले गच्छदारलाई ५ हजार ४३४ मतले पछि पारेकी छिन् । अब उनको विजय आधिकारिक घोषणा हुन मात्रै बाँकी छ । चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले हालसम्म ३३ हजार ८६३ मत पाएका छन् । सो क्षेत्रको बर्जू गाउँपालिका वडा नम्बर ६ को तीन हजार ६५५ मत गणना हुन मात्रै अब बाँकी छ । गच्छदार छैटौँ पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाएकी छिन् । काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका थिए । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ । उक्त मुद्दा अन्यायपूर्ण भएकोले न्याय दिनुपर्ने उनको मूल मुद्दा थियो । तर, जनताले गच्छदारलाई न्याय होइन ‘सजाय’ दिएका छन् । 

०४८ सालदेखि नै सो क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार हालसम्म अपराजित थिए । गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँदै निर्वाचन जितेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!