सुनसरी–४ मा मतगणा सुरु, कार्कीको अग्रता

Posted on: 29 Nov, 2022

मङ्सिर १३, सुनसरी । शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ ।  सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो ।

मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गर्नुभएको थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका उहाँले पुनः मतगणनाको माग गर्नु भए पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।

आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना  गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिनुभएको छ ।

उहाँले २३ हजार सात सय ६६ मत प्राप्त गर्नुभएको छ भने एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!