नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीको श्रमदान

Posted on: 03 Jul, 2022

असार १९, काठमाडौँ | धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । 


शनिबार सोही क्षेत्रमा  वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । 

पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन्  । 

पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए ।  विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!