बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर

Posted on: 07 Jul, 2022

असार २३, सुर्खेत | बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केहीबेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ ।’

अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको छ । एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले बताए । 

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा गरेको भन्दै मतगणना स्थगित गरेर पुनः बिहीबार निर्वाचन गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!