कांग्रेस उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी

Posted on: 11 Oct, 2022

असोज २५, सुर्खेत । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृृहजिल्ला समेत रहेको रुकुम पश्चिममा पटक पटक सहमति विपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्धमा माओवादी उम्मेदवारका प्रतिनिधिले उजुरी दिएका हुन्  ।  बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको भन्दै धुर्वविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।

बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ । 

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । यस विषयमा ओलीले भने, सम्मानित सर्वोच्च अदालतमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ , फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन ।’ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!