सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

Posted on: 06 Feb, 2022

माघ २३, मकवानपुर | सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । 

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताउनुभयो । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक शाहीले विश्व कीर्तिमानी  प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ । पाँच जनाको समूहलाई रु तीन हजार २००, १० जनाको समूहलाई रु दुई हजार ८०० र १० भन्दा बढी आउनेलाई रु दुई हजार ५०० शुल्कमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन् । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप रु एक हजार तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२  चालक सुर्खेत भित्र्याएको छ । 

कर्णालीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ । “हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित सञ्चालन गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!