जग्गा अधिग्रहण गरेकाे ८ वर्षसम्म चौरजहारी टाउन प्लानिङकाे काम हुन सकेन

Posted on: 24 Aug, 2022

भदौ ८, सुर्खेत | आठ वर्षदेखि  नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन काम नगर्दा बाँझै छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो ।  नयाँ सहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।


नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलासुस्तीका काम सुरु हुन सकेको छैन ।  सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको ‘अर्वान प्लानिङ कन्सल्टेन्ट’ले असारमै डीपीआर गरेर काम सुरु हुने  बताएपछि किसानलाई पटक पटक खेती नगर्न सूचना गरेकाले खेतीयोग्य जमिन खाली राखिएको थियो  ।

आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको ‘लाइनिङ’को काममा ‘गाइड’ नगरिदिँदा प्लटिङको काम हुन नसकेर जग्गा खाली हुन पुगेको हो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष ६ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ ।

उक्त  अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताए । सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयोजना कार्यालयलाई बुझाइसकेको जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्नमात्र बाँकी रहेको उल्लेख बताए । यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् ।  

२०७२ सालमा नयाँ सहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ । यसवर्ष सडक कालोपत्रे, सभाहल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!