स्व. मन्त्रीको अन्तिम सम्वोधन -'प्रधानमन्त्रीले आँफै गएर चुहान डाँडा हेरेर आउनुहोस भन्नुभयो'

Posted on: 27 Feb, 2019

फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका छन् ।

ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा दाह्रेभिरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा पर्नु अघि तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रवीन्द्र अधिकारीले भनेका कुरा जस्ताको त्यस्तै: 

अहिले हामी यहाँ आइरहंदा  एयरपोर्टको सन्दर्भ चलाउन होइन कि एयरपोर्ट बनाउने हिसाबले हेर्न आएका छौं यहाँको अवस्थालाई बुझ्न आएका छौं । मेरो साथमा तेह्रथुमको चुहान डाँडा एयरपोर्टको नक्सा इस्टमेट डिजायन सबै छ । पहिला २९ करोड भनेपनि अहिले हाम्रो इस्टमेट ८७ करोड खर्च हुने अवस्था छ । यहाँ निर्माण गर्नको लागि म यतिबेला २ वटा सन्दर्भ बताउन चाहन्छु । एउटा वर्तमान सरकार बनिसकेपछि मूलुकको आर्थिक विकास र सम्वृद्धिको यात्रालाई, यो अभियानलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको छ । हामी त्यो मन्त्रीमण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौं । यो ठाउँ उहाँको जन्मस्थल भएर मात्र होइन यो ठाउँ यस क्षेत्रको उपयुक्त ठाउँ हुनाले पनि हामीले यो ठाउँमा एयरपोर्ट बनाउने सन्दर्भमा छलफल गरौँ । 

सम्मानीय प्रधानमन्त्री ज्यूले हामीलाई भन्नुभयो "यसको सन्दर्भमा के कस्तो लाग्छ, सबै कुराको सबै डिटेल अध्ययन गर्नुस् ।" अघिल्ला अध्ययनका आधारमा हामीले फेरी अध्ययन गरौँ र अध्ययन गर्दा खेरि आज हामी नक्सा र सबै डकुमेन्ट सहित एउटा अध्ययन पुरा गरेर, सम्मानीय प्रधानमन्त्रीले अरु होइन पर्यटनमन्त्री आँफै गएर चुहानडाँडा हेरेर आउनुहोस भन्नुभयो । त्यो अध्ययन पछाडी आज हामी यो ठाउँमा स्थलगत अध्ययन गर्नको लागि आएका छौं र स्थलगत अध्ययन यत्तिकै हेर्दाखेरी पनि यहाँ एयरपोर्ट बनाउन उपयुक्त ठाउँ छ । किनकि यहाँ केहि कुराले पनि छेक्दैन, त्यस्तो ठाउँ भएको हुनाले सबै कुराले यो ठाउँ उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौँ । यस अर्थमा म तपाइहरुलाई भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्री ज्यूको सन्देश पनि भन्न चाहन्छु, कि सरकार यो ठाउँमा एयरपोर्ट बनाउन प्रतिवद्ध छ । त्यस कारणले हामी एयरपोर्ट बनाउन तपाईहरुको विचमा आएका छौं । तपाईहरुको साथ छ । हामी सबै मिलेर यो कामलाई अगाडी बढाउनेछौँ । दोश्रो कुरा पानी परेको छ, मौसम खराब छ, हामी फेरी फर्कनुपर्नेछ त्यसले गर्दाखेरि सरकार आफ्ना कामहरुलाई अगाडी बढाइरहेको छ । तर संधै अस्थिरताबाट फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मूलुकलाई विकास र सम्वृद्धिको यात्रामा अगाडी जान नदिनेहरु आत्तिएका छन्, कराइरहेका छन् केहि भएन भनेर र, म भन्न चाहन्छु, वर्तमान सरकार निर्माण भए पछाडी मुलुकको आर्थिक विकास र सम्वृद्धिको यात्रामा उल्लेख्य काम भएका छन् । 

अहिले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तिनै सरकारको समन्वय संचालन र तीन वटै सरकारको कानूनी व्यवस्थाहरु सबै हामीले बनाएर यी तीन वटै सरकार जनताले निर्वाचित गरेका सरकार हुन् । यी सरकारहरुले जनता र राष्ट्रको पक्षमा काम गरिरहेका छन् । परिणामहरु देखिरहेका छन् र अझै हामी प्रभावकारी ढंगले काम गर्नुपर्नेछ त्यस कारण म के भन्न चाहन्छु भने काम भएको छैन, केहि भएको छैन, भनेर हल्ला गर्नेहरु छन् म यति भन्न चाहन्छु, उनीहरू किन हल्ला गरिरहेका छन् भने सरकारले काम गरिरहेको छ, त्यस कारणले सरकारले काम गरिरहेको छैन भनेर अफवाह फैलाउनका लागि हल्ला गरिहरेका छन् । यस कारण म भन्न चाहन्छु, यस ठाउँमा मध्ये पहाडी राजमार्ग प्रभावकारी ढंगले काम भैरहेको छ । 

हामी यहाँ एयरपोर्ट बनाउंदै छौं,  देश भरिका एयरपोर्टहरुलाई सुधार गर्दैछौं, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिरहेका छौं र संगसंगै यो देशका ठुला ठुला पूर्वाधारहरु चाहे जलविद्युत होस् ,चाहे रोजगारी होस् ,चाहे आर्थिक विकासका कुरा होस् या आर्थिक वृद्धि बढाउने कुरा होस् सबै क्षेत्रमा काम बढेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम भएको छ । यस हिसाबले स्थानीय सरकारले पनि प्रभाकारी काम गरेको छ। प्रदेश सरकारले गरेको छ, संघीय सरकारले गरेको छ । अब मुलकको आर्थिक विकास र सम्वृद्धिलाई कसैले रोक्न सक्दैन । कसैका गफले रोक्न सक्दैन, कसैका अबरोधले रोक्न सक्दैन, यो सरकारको सन्देश हो, सरकारको प्रतिवद्धता हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!