पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री माथिल्लो फेदीमै रोकिए

Posted on: 16 Nov, 2021

कात्तिक ३०, ताप्लेजुङ | नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भोग्नु परेको हो । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको हो । 

एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारको माथिल्लो फेदीमा सोमबार दुई हजार दुई सय भक्तजन रोकिएको माथिल्लो फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा रोकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ-आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा रोकिएको माथिल्लो फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए । 

बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!