तेह्रथुममा २४ करोडको दूध उत्पादन

Posted on: 22 Sep, 2017

असोज ६, तेह्रथुम। जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । 

जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले बताउनुभयो । 

जिल्लामा आव २०७३÷७४ मा रु २४ करोड २८ मूल्य बराबरको ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो आव २०७२÷७३ मा रु २३ करोड ९२ लाखको दूध उत्पादन भएको थियो । जिल्लामा उत्पादन भएको दूधमध्ये करिब सात हजार २०० लिटर दूध दैनिक रुपमा जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको पशु विकास अधिकृत लोकनाथ ढुङ्गानाले बताउनुभयो । 

यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरालगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ । आव २०७३÷७४ मा जिल्लाबाट रु १० करोड २२ लाख बराबरको दूध जिल्लाबाहिर निकासी भएको छ । जिल्लामा उत्पादन भएको मध्ये दुई हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो । यहाँ दूध प्रतिलिटर सरदर रु ४० का दरले किनबेच भइरहेको छ । 

जिल्लाका किसानले एक वर्षमा दूध बिक्रीबाट रु १० करोड २२ लाख आम्दानी गरेका पशु विकास अधिकृत ढुङ्गानाले बताउनुभयो । जिल्लामा ६० लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ । हरेक दिन १६ हजार ६३० लिटर दूध उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कूल उत्पादनमध्ये ४२ प्रतिशत दूध जिल्लाबाहिर निकासी हुने गरेको छ । बाँकी ५८ प्रतिशत मात्रै जिल्लामा खपत हुन्छ । 

जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक संकलन हुने गरेको छ । विशेषगरी लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानले दूध उत्पादन गरेरै जीविकोपार्जन गरिरहेका छन् । जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन् । किसानलाई सहयोग पु¥याउन कार्यालयले उन्नत जातको घाँसको बीउबिजन, नश्ल सुधार, कृत्रिम गर्भाधान, प्राकृतिक गर्भाधान, किसानलाई तालिम, आधुनिक मेसिनरी सामानका लागि अनुदान र गोठ सुधारका लागि रु १० हजारसम्म अनुदान दिने गरेको छ । 

अपाङ्गता भएकालाई मसला बनाउने सीप 

जिल्लाका नौजना अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक बन्न प्रेरित गर्दै मसला बनाउने सीप सिकाइएको छ । अपाङ्ग सशक्तीकरण तथा पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा संलग्न गराउन सीप सिकाएको हो । उनीहरुको व्यक्तिगत जीवनमा सहयोग पुगोस् भन्ने ध्येयले तालिम आयोजना गरिएको अध्यक्ष डोलेश्वर गड्तौलाले बताउनुभयो । 

सीप सिकेका व्यक्तिलाई व्यावसायिक बनेर आयआर्जनमा लाग्नसमेत सुझाइएको उहाँले बताउनुभयो । जिल्लामा तीन हजार ६०० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!