तेह्रथुममा चुनावी माहोल तात्यो, दलको प्रचारप्रसार उत्कर्षमा

Posted on: 29 Nov, 2017

मङ्सिर १३, तेह्रथुम । मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । 

मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक चार÷पाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थालेको छ । 

दलका उम्मेदवार र नेताको घरदैलो पनि शुरु भएको छ । गाउँगाउँमा दलका कार्यकर्ता मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो गरिरहेका छन् । छवटा स्थानीय तह रहेको जिल्लामा ४३ वटा वडा छन् । मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई सबै वडामा एकपटक पुग्न समेत भ्याइनभ्याइ भएको छ । 

प्रदेशसभाका उम्मेदवारले भने घरदैलो गर्नसमेत समय पु¥याएका छन् । पहिलो चरणमा चुनाव सम्पन्न भएका जिल्लाका नेता कार्यकर्ता समेत दोस्रो चरणमा हुने चुनावमा खटिन थालेपछि चुनावी माहोल अझै बढेको हो । एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ११ दलको उम्मेदवारी छ भने प्रदेशसभा–१ मा ९ तथा प्रदेशसभा–२ मा आठ जनाको उम्मेदवारी छ । 

ठूला दलले ठूलै तामझामले प्रचारप्रसार गरिरहेका छन् भने साना दलको सोही किसिमको प्रचारप्रसार चलिरहेको छ । मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारको दैनिक छुट्टाछुट्टै चुनावी सभा भइरहेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरमलगायत दलले पनि चुनावी सभा गरिरहेका छन् । 

लोकतान्त्रिक गठबन्धनका लागि नेपाली काँग्रेसकी प्रतिनिधिसभाकी उम्मेदवार भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङले २५ वटा बढी वडामा चुनाव प्रचारप्रसार कार्यक्रम सकेको बताउनुभयो । वाम गठबन्धनका लागि एमाले नेता भवानीप्रसाद खापुङले पनि २५ बढी वडामा पुगेर चुनाव प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । प्रतिनिधिसभामा वाम गठबन्धनका खापुङ र लोकतान्त्रिक गठबन्धनकी गुरुङबीच उच्च प्रतिस्पर्धा छ । 

प्रदेशसभामा (क) निर्वाचन क्षेत्रमा लोकतान्त्रिकका काँग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र वाठ गठबन्धनका एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी तथा (ख) क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका विजय सम्बाहाम्फे र वाम गठबन्धनका एमाले पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङवाको बीचमा चुनावी प्रतिस्पर्धा छ । 

यी दुई गठबन्धनको क्षेत्रीय आमसभासमेत हुन थालेका छन् । सोमबार सदरमुकाम म्याङलुङमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको उपस्थितिमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा ग¥यो । 

मंगलबार वाम गठबन्धनले एमाले सचिव योगेश भट्टराई र माओवादी केन्द्रका नेता टंक आङबुहाङको उपस्थितिमा आठराईको संक्रान्तिबजारमा चुनावी सभा गरेको छ । यता लोकतान्त्रिक गठबन्धनले लालीगुराँस नगरपालिकाको दाँगपामा चुनावी सभा गरेको छ । 

बुधबार सदरमुकाम म्याङलुङमा एमाले नेता भट्टराईसहितका नेताले सम्बोधन गर्ने वाम गठबन्धनको सभा छ भने लोकतान्त्रिक गठबन्धनले छथरको शुक्रबारे बजारमा आयोजना हुने चुनावी सभामा वाणिज्यमन्त्री मीन विश्वकर्मासहितका नेता सहभागी हुनुहुने जनाइएको छ । 

अबका बाँकी केही दिनसम्म लोकतान्त्रिक र वाम दुवै गठबन्धनका छुट्टाछुट्टै नगर तथा गाउँपालिका स्तरीय चुनावी आमसभा आयोजना गरिएका छन् । एमाले सचिव भट्टराईले जिल्लाको म्याङलुङ, मेन्छ्यायेम र वसन्तपुरमा हुने सभालाई सम्बोधन गर्ने एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मेन्छ्यायेम गाउँपालिकामा एमाले नेता पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्नेछन् । काँग्रेसका नेता भीष्मराज आङ्देम्बे, दीपक खड्कालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सन्तोष सुब्बाले बताउनुभयो । दैनिकजसो आमसभा, घरदैलो र चुनाव प्रचारप्रसार कार्यक्रमले जिल्लामा चुनावी रौनक बढाएको हो । 

दलका नेता कार्यकर्तालाई चुनाव प्रचारप्रसारका गतिविधि गर्न भ्याइनभ्याइ भएको छ । कार्यकर्ताको बीचमा प्रचारप्रसारका सामग्री राख्न, आमसभामा मान्छे उतार्न तथा ¥याली, भेलामा सहभागीको संख्या ठूलो देखाउन प्रतिस्पर्धा भइरहेको छ । जिल्लाका बजार पार्टीका चुनाव चिह्न अंकित झण्डा, पर्चा र अन्य प्रचार सामग्रीले रंगिएका छन् । 

मतदातामा छैन उत्साह 

दलका नेता कार्यकर्ता चुनाव प्रचारप्रसारमा व्यस्त भए पनि आम मतदातामा भने चुनावी उत्साह खासै देखिँदैन । दलका नेताहरु घरदैलोमा पुग्न थालिसक्दा पनि मतदाताले भने चुनावको माहोल नछाएको बताएका छन् । गाउँका किसान अहिले अन्नबाली थन्काउन, बाली लगाउनलगायत काममा व्यस्त छन् । स्थानीय चुनावमा जस्तो मतदातामा उत्साह नदेखिएको हो । 

बजार क्षेत्रमै पनि मतदातालाई चुनावले खासै उत्साह थपेको छैन । राजनीतिक दलले हरेक पटकका चुनावमा उस्तैउस्तै एजेण्डा लिएर आउने तर चुनावका बेलाबाहेक अरु बेला त्यस्ता विषयमा नसोच्ने गरेकाले मतदातामा चुनावी उत्साह नदेखिएको सरोकारवाला बताउँछन् । 

जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका मुख्य प्रतिस्पर्धी उम्मेदवार यस अगाडि पनि सांसद थिए । “दुवै उम्मेदवारले पहिले पनि जनतामाझ विभिन्न आश्वासन बाँडेकै थिए । फेरि पनि तीनै आश्वासन बाँड्दै भोट मागिरहेका छन्,” आम्बुङकी इन्दु लिम्बूले भन्नुभयो । नेताले मतदाताको भावनाबमोजिम काम गर्न नसकेको लिम्बूको बुझाइ छ । 

नेताप्रति खासै आशा नभएकाले चुनावी गतिविधिमा खासै चासो नदेखाएको उहाँले बताउनुभयो । “चुनाव मताधिकार प्रयोग गर्ने अवसर हो, तर यहाँ त सक्षम उम्मेदवार पाउनै मुस्किल छ,” आठराई गाउँपालिका–४, इवाका टीकाराम गुरुङले भन्नुहुन्छ । गाउँका धेरै सर्वसाधारणलाई चुनावी माहोलले छोएको छैन । उनीहरु दलका झुटा आश्वासन सुन्नुभन्दा आफूलाई मनपर्ने मान्छे रोजेर भोट खसाल्ने योजनामा रहेको बताउँछन् । 

“दलका घोषणापत्र, चुनावी एजेण्डा सुनिसाध्य छैन,” म्याङलुङ नगरपालिका–८ का प्रेमप्रसाद सम्बाहाम्फेले भन्नुहुन्छ, “एजेण्डा हैन, अब मान्छे हेरेर भोट हालिन्छ ।” २०१५ सालपछि आफूले सबै चुनावमा मत हालेको बताउने ८४ वर्षे सम्बाहाम्फे पूरा नहुने आश्वासन सुनेर कुनै अर्थ नहुने बताउनुहुन्छ । “यसले स्वयम उम्मेदवारलाई पनि फाइदा गर्दैन । मतदातामा अविश्वास बढेसँगै वितृष्णा आउने भएकाले गर्न सकिने कुरा मात्र गर्न बोल्नुपर्छ” उहाँ भन्नुहुन्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!