पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ

Posted on: 01 Oct, 2022

असोज १५, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । 

 उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी-८ मोडलको स्मार्ट मोबाईल  समेत लगेका थिए । 

 नगद तथा चेक मोवाईल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाईकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरुलाई मुक्तिनाथ बिकास बैंकको चेक र मोवाईल तथा स ३ प ९१५५ नम्बरको मोटरसाईकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!