वैशाख १२, काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको एउटा जहाजले सोमबार राति एकाएक कोलाहल उत्पन्न गरिदियो, खासगरि सामाजिक सञ्जालमा । ९:२० मा उडान भरेको फ्लाइ दुवईको बोइङ ७३७ जहाज तुरुन्तै समस्यामा परेपछि ठूलो दुर्घटनाको त्रास उत्पन्न भएको थियो ।

काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा विष्फोटजस्तो आवाज सुन्नुका साथै आगोको झिल्कासमेत देखेका थिए । निकै बेरसम्म जहाजले काठमाडौंको आकाशमा फन्को मारिरहँदा यता त्रिभुवन विमानस्थलमा पनि तनाव सिर्जना भएको थियो । विमानस्थल स्रोतकाअनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

फ्लाइ दुवईले आफ्नो कम्पनीको एफजेड ५७६ विमानमा चरा ठोक्किएको स्पष्टीकरण दिएको छ । दुवई मिडिया अफिसको ट्वीटर ह्यान्डरमा लेखिएअनुसार काठमाडौंबाट उडान भर्ने क्रममा विमानले ‘बर्ड स्ट्राइक’ को सामना गरेको थियो । उचित मापदण्डहरू अपनाउँदै जहाजको उडानलाई निरन्तरता दिइएको सो कम्पनीले बताएको छ ।

तर, नेपाल नागरिक उड्ययन प्राधिकरणले भने बर्ड स्ट्राइकको दाबी अस्वीकार गरेको छ । प्राधिकारणका प्रवक्ता निरौलाले आफ्नो प्राविधिक कमजोरी ढाकछोप गर्न चराको बहाना गरिएको हुन सक्ने बताए ।

‘चरा ठोक्किएकै होइन । त्यो पुष्टि भएको छैन । चरा ठोक्किएको भए पाइटले यहाँको यहाँको टावरलाई किन भनेनन् ? हामी एयरपोर्टको मान्छेलाई थाहा छैन । उसले आफ्नो गल्ती ढाकछोप गरेको मात्र हुनसक्छ,’ निरौलाले भने ।

विज्ञहरूका अनुसार जहाजमा चरा ठोक्किनु कहिले सामान्य त कहिले गम्भीर हुन सक्छ । चराले जहाजको कुन पार्टमा हिर्कायो र चरा कत्रो थियो भन्नेमा पनि भर पर्ने उनीहरूको भनाई छ । त्यसो त उडिरहेको विमानमा मकैको दानाजस्तो सानो वस्तुले पनि स्ट्राइक गर्यो भने प्वाल पर्न सक्छ । त्यस्तो अवस्थामा इन्जिनमा असर गर्ने वा आगोसमेत लाग्ने सम्भावना भएकाले पाइलटले आकस्मिक अवतरण गराउने गर्छन् ।

तर, प्राधिकरणका प्रवक्ता निरौला हिजोको केसमा चरा ठोक्किएको कुनै प्रमाण नभेटिएको बताउँछन् ।

‘ठोक्किएको हो भने चराको अवशेष भेटिन्थ्यो होला । जहाजमा दुलो पर्थ्यो होला । त्यस्तो केही भएको अवस्था छैन,’ उनले भने ।

एउटा मरेको चरा विमानस्थलको धावनमार्गमा भेटिएको निरौलाले स्वीकार गरे । तर, त्यो चरा हेर्दा हिजै ठोकिएर मरेको नदेखिने उनको भनाई छ ।

‘चरा भेटिएको त हो । तर, यहाँ दिउँसो पनि शिकारी घुमिरहेका हुन्छन् । उनीहरुले मारेको हुन सक्छ । हिजै मरेर खसेको भए त आलो हुनुपर्थ्यो । सुकिसकेको चरा भेटिएको हो,’ उनले भने ।

पाइलटले रिस्क लिएका हुन् ?

आगोको लप्का देखिएको र विस्फोटको आवाजसमेत सुनिएको जहाज आकस्मिक अवतरण नगराइ गन्तव्यतर्फ लगेर पाइलटले के जोखिम मोलेका हुन् ? त्रिभुवन बिमानस्थलमा कार्यरत एक इन्जियनियरको भनाइमा यदि जहाज काठमाडौंमै फिर्ता गरिएको भए त्यसलाई फेरि उडाउन समस्या पर्न सक्थ्यो । फ्लाइ दुवइले आफ्नो प्राविधिकहरू पठाएर अनुसन्धानहरू गरेपछि मात्रै जहाज उडाउन अनुमति पाउँथ्यो । त्यसबाट उसको खर्च बढ्ने थियो । त्यसैले अलिकति रिस्क मोलेरै जहाजको उडानलाई निरन्तरता दिएको उनको दाबी छ ।

‘उनीहरूको आफ्नै रुल्स एन्ड रेगुलेसन्स हुन्छन्, तर नेपालमा चाहीँ यस्तो केसमा थोरै पनि रिस्क लिन दिइँदैन,’ ती इन्जिनियरले भने ।

प्रवक्ता निरौलाले चाहीँ रिस्क लिएको भन्न नमिल्ने बताए ।

‘उसले होल्ड गरेर राम्ररी हेरिसकेपछि सबै नर्मल देखिएकाले उडान निरन्तरता दिएका हुन्,’ उनले भने । विमानमा झिल्को देखिए पनि आगो नलागेको उनको भनाई छ ।

‘आगो बलेको होइन, झिल्को देखिएको हो । मोटरसाइकलमा किक हान्दा पनि स्पार्क हुन्छ नि कहिलेकाहीँ, विमानको इन्जिनमा पनि कहिलेकाहीँ खराबी आउँदा यस्तो स्पार्क हुन्छ । आगो नै लागेको भए त उडाउने स्थिति नै हुँदैनथ्यो ।

फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन: नागरिक उड्डयन प्राधिकरण