चैत २६, काठमाडौं । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ ।

मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ ।

बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् ।

भित्रै बस्दा पनि आँखा पोल्ने, घाँटी खि¥याउने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासी बताउँछन् ।

सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताए ।

उनका अनुसार यसै विषयमा वन तथा वातावरण मन्त्रालयमा थप छलफल भएको छ । सोमबार एकै दिन देशका आठ सय स्थानमा डढेलो लागेको थियो ।

आइतबार ७२८ स्थानमा डढेलो लागेको थियो । मङ्गलबार अपराह्न केही घटेको डढेलो बुधबार बिहान फेरि बढेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा