भदौ १९, काठमाडौँ (रासस)। नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरकारुपमा लिन सकिने स्पष्ट पारेको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरकारुपमा कार्यक्रममा सहभागी हुन उहाँहरुलाई निमन्त्रणा प्राप्त भएको बताउनुभयो ।

उहाले भन्नुभयो, “नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारुपमा भाग लिइ अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताकारुपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ ।”

भारतीय सेनाका मानार्थ महारथी रहनुभएका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उहाँहरु व्यक्तिगतरुपमा कार्यक्रममा सहभागी हुनुहुने जानकारी दिनुभयो ।

पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो ।

उहाँहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुनसक्नेछ ।

सैनिक कूटनीति थप सुदृढ गर्ने अवसरका रुपमा हेरिनुपर्छ: सैनिक प्रवक्ता