वैशाख १२, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उहाँले बताउनुभयो । उहाँले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भन्नुभयो, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उहाँले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।” अर्काे प्रसङ्गमा उहाँले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताउनुभयो । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उहाँको भनाइ थियो । लामिछानेले भन्नुभयो, “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने÷नदिने बारेमा निर्णय गर्छाैं”, उहाँले थप्नुभयो, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने