चैत २९ काठमाडौँ | सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ ।

माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्न निर्देशनसमेत दिइसकेको छ ।

देशभरि २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला शिक्षा कार्यालयको ठाउँमा एकाइ कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

सहसचिव अर्यालका अनुसार उक्त एकाइ कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहनेछ ।

अहिले जिल्ला शिक्षा कार्यालय भएको ठाउँमा नै एकाइ कार्यालय स्थापना गरिनेछ । उक्त कार्यालयले कक्षा ८ र १० को परीक्षा सञ्चालनसम्बन्धी काम गर्ने, शिक्षकको अभिलेख राख्ने, शिक्षकको निवृत्तिभरणको काम गर्नेलगायतका काम गर्ने सहसचिव अर्यालले बताउनुभयो ।

अहिले उक्त कार्यालयमा प्रमुख ‘शिक्षा सेवाको उपसचिव’ र ‘शाखा अधिकृत’ रहने छन् । यसअघि शिक्षा कार्यालयमा रहने ‘जिल्ला शिक्षा अधिकारी’ पदको व्यवस्था गरे पनि एकाइ कार्यालयमा भने त्यस्तो पदको नाम राखिएको छैन । रासस

April 12, 2018
काठमाडौँ - KTM, समाज
जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना
By kit
4 मिनेट पढाइ