भदौ १०, काठमाडौँ | नेपाल यतिखेर बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकै अश्यक्षतामा काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनकै तयारीका क्रममा सडकहरु सजाइदै छ । अहिले काठमाडौँका मुख्य सडकका खाल्डा खुल्डी पुर्ने देखि चोकचोकमा झन्डा र स्वागतद्वार बनाइएको छ । साथै सडक समेत चम्काउने काम भईरहेको छ ।
यही भदौ १४ र १५ गते काठमाडौंमा बिमष्टेकको चौथो शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख तथा अन्य मन्त्री र उच्चपदस्थ पदाधिकारीहरु काठमाडौं आउँदै छन् ।
उपत्यकाको सडकको दुरावस्थाका कारण उपत्यकाबासीले दिनहुँ सास्ती खेप्दै गर्दा सरकारले सम्मेलनमा आउने पाहुँनाको अगाडि देशको लाज छोप्न धमाधम सडक बनाइरहेको छ । यस पटकको शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिष्दका अध्यक्ष छिरिङ तोग्वे नेपाल आउंदैछन् ।
बिमस्टेकको शिखर सम्मेलनमा सबै देशको आ-आफ्नै स्वार्थ छ । मुख्यत: भारतले यो सम्मेलनबाट ठूलो स्वार्थ लिन चाहेको आरोप लाग्दै आएको छ । नेपालको विदेश नीतिको स्पष्ट र लिखित कुनै एजेन्डा नभएपनि नेपालले यो सम्मेलनबाट कस्तो फाइदा पाउला भन्नेमा सबैको चासो छ । यो सम्मेलनमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक समेत बस्दैछ । जसको लागि परराष्ट्र सचिव शंकरदास बैरागीले नेतृत्व लिदैछन् । यस पटकको सम्मेलनबाट बिमस्टेक राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता भएमा नेपाललाई फाइदा हुने आशा राख्न सकिएपनि यो धेरै अघिको प्रयास असफल हुँदै आएको छ । नेपालजस्तो भू-परिवेष्टित देशलाई यो सम्मेलनले फाइदा दिने भएपनि आफ्नो फाइदाको लागि नेपालले गम्भीर रुपमा सम्मेलनमा आफ्ना माग नउठाएको र सम्मेलनमा भाग लिने भारत लगायत देशले नेपालको मागलाई महत्व नदिएको वा आफ्नै स्वार्थमा काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यस पटकको सम्मेलनमा बिमस्टेक राष्ट्रहरुबीच सडक मार्गहरु जोड्ने बिषय निकै महत्वपूर्ण रुपमा उठ्न सक्छ । यदी उठेको बिषयमा सबै सम्मेलनमा भाग लिने राष्ट्रहरुले समझदारी गरे नेपालदेखि भारत, बंगलादेश, म्यानमार हुँदै थाइल्याण्डसम्म गाडीमै आवत-जावत गर्न सकिनेछ । तर यही सम्मेलनमा यो बिषयमा सम्झौता हुने स्थिति भने नदेखिएको बताइन्छ । यदी यो प्रोटोकलमा बैठकमा बहश भएर सम्झौता भएमा देश अनुसार नियम पालना गर्दै बिमस्टेक राष्ट्रहरुमा गाडीमै आवत-जावत गर्न सकिन्छ । नेपाललाई यो खाले सम्झौताले ठूलो सहयोग पुग्ने देखिन्छ ।
यो पटकको बिमस्टेक राष्ट्रहरुबीच पारस्परिक सहायताका क्षेत्रमा हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै भावी काममा दिशानिर्देश गर्ने जनाइएको छ । सम्मेलनमा ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ पनि बिशेष छलफल र सहमति हुन सक्ने देखिएको छ । यस पटक सम्मेलनमा नेपालले बिमस्टेक राष्ट्रहरुबीच सडकमार्गका साथै जल र हवाईमार्गबाट जोड्ने तथा विद्युत् प्रसारण ग्रिड,र अप्टिकल फाइबरबाट समेत जोड्ने विषयलाई प्रधान बिषय बनाई सम्मेलनमा आफ्नो बिषय राख्ने बुझिएको छ ।