भदौ १४, काठमाडौँ | आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो ।

आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको छ । रासस

August 30, 2018
काठमाडौँ - KTM, समाज
तीन दिन बद्ली र वर्षा हुने
By kit
3 मिनेट पढाइ